पाल्पा, चैत ३० :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझाव कार्यान्वयन गरिने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आज  तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आयोगले दिएका सुझाव अध्ययन गरी कार्यान्वयन गरिने बताए । 

अर्थमन्त्री पौडेलले सरकारले आयोगको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्ने र तत्काल सम्भव हुने सुझावलाई चाँडै कार्यान्वयन योजना बनाएर अगाडि बढ्ने बताए । 

यस पटकको बजेट प्रतिफल दिने खालको हुने, निजी र उत्पादन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध गरिने उनको भनाइ थियो । 

अर्थतन्त्रलाई चलायमान र सुधार गर्ने कुराहरूलाई तत्काल कार्यान्वयनको चरणमा लैजाने छौँ । अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२- ८३ को बजेट ल्याउँछौँ । त्यसको तयारीमा सरकार लागिरहेको उनको भनाइ थियो ।

अनुशासित ढङ्गले स्रोत व्यवस्थापन र परिचालन गर्ने ढङ्गले जान नसके थप समस्या हुने कुरामा सरकार सचेत रहेको धारणा राख्दै अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रूपमा अप्ठ्यारोमा पर्न नदिइने बताए । 

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैङ्कको गभर्नर योग्य र सक्षम पात्रलाई नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए ।