
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना भएको स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलनको समापनका क्रममा उनले अनुसन्धानलाई प्राथमिकतामा राख्नुका साथै सम्मेलनबाट प्राप्त निष्कर्षलाई मन्त्रालयले कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले अनुसन्धानकर्तालाई प्रोत्साहन गर्नुपर्ने भन्दै स्वास्थ्य अनुसन्धानका विषय के हुन्, ती पहिल्याए मात्र स्वास्थ्य क्षेत्रका समस्या समाधान हुने बताए । मन्त्री पौडलले आगामी वर्षदेखि परिषद्को कार्यालय सातै प्रदेशमा स्थापना गर्नेसमेत जानकारी दिए ।
उनले अस्पतालले बिरामीका मेडिकल रिर्पोटलाई ‘डिजिटलाइज’ गर्न आवश्यक रहेको समेत बताए । वीर अस्पतालमा उपचार गरेको बिरामीले पछि बिरामी गजेन्द्रनारायण अस्पतालमा उपचार गर्न जाँदा पनि डिजिटल रूपमा हेर्ने व्यवस्था हुनुपर्ने बताए ।
स्वास्थ्यमा सरकारले लगानी गरेअनुसार प्रतिफल नपाएको मन्त्री पौडेलको भनाइ थियो । उनले चिकित्सा शिक्षाशास्त्रको स्नातकोत्तर तह (पिजी) अध्ययन गर्ने आवासीय चिकित्सकलाई अस्पतालले सरकारले तोकेको ४८ हजार दिने निर्णयमा फिर्ता नहुने बताए ।
यही चैत २८ गतेबाट सुुरु भएको सम्मेलनमा नेपालसहित भारत, चीन, बेलायत, स्वीटजरल्यान्ड, जर्मनी, अमेरिकालगायत देशका १०० भन्दा बढी अन्तरराष्ट्रिय विज्ञ तथा एक हजारभन्दा बढी राष्ट्रिय सहभागीहरूको भौतिक तथा भर्चुअल उपस्थिति थियो ।
सम्मेलनमा ८७ वटा मौखिक र ११५ वटा पोष्टर प्रस्तुतिकरण भएका थिए । सम्मेलनमा उत्कृष्ट अनुसन्धानकर्तालाई अवार्ड प्रदान गरिएको थियो ।