काठमाडौं, चैत ३१ :

सरकारसँगको वार्तालाई जारी राखेका शिक्षकहरुले सडक आन्दोलनलाई पनि छाडेका छैनन्। सिमसिम पानीमा पनि शिक्षकहरुको आन्दोलन जारी राखेका छन् । 

देशभरबाट आएका शिक्षकहरूले २० चैतदेखि लगातार माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरिरहेका छन् । घामपानी नभनी आन्दोलनमा होमिएका शिक्षकहरुको मागको सुनुवाइमा सरकारले ढिलाइ गर्न हुँदैन ।

शिक्षा ऐन जारीको माग राखी शिक्षकले थालेको आन्दोलन आज (आइतबार) १२ औँ दिन पुग्दा पनि सार्थक वार्ता हुन सकेको छैन ।   सरकार र शिक्षक महासंघबीच दुई दिन वार्ता भइसकेको छ ।

संसदबाट ऐन जारी गर्न नसकिए अध्यादेशबाट भए पनि शिक्षा ऐन ल्याउनुपर्ने शिक्षकहरूको माग छ । शिक्षकहरूले बबरमहल क्षेत्रमा सडक कब्जा गरी प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शन तारिफ योग्य रहेको छ । यतिका दिन हुँदा पनि उनीहरुले न सडक फोहोर बनाएका छन् न त बोट बिरुवा नै मासेका छन् ।

माइतीघर-बानेश्वर सडकमा भेला भएका शिक्षकहरु कतै नाचगान गरिरहेका देखिन्छन् भने कतै जादु देखाइरहेका छन् । उनीहरुले आफूहरुको पीडामा पनि रमाइलो किसिमले प्रदर्शन गरिरहेका छन् ।