काठमाडौं, चैत ३१ :

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गर्दै जनतामा जागरूकता पैदा हुनु सकारात्मक रहेको बताएका छन् ।

नयाँ वर्षको पूर्वसन्ध्यामा आइतबार भिडिओ सन्देश मार्फत उनले हिंसात्मक प्रदर्शनको दुई सातापछि प्रतिक्रिया जनाएका हुन्। उनले २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने समेत विश्वास व्यक्त गरे।

मुलकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको समेत उनले दाबी गरेका छन्।

पूर्वराजा शाहले समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको बताउँदै त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनु पर्नेमा जोड दिए ।नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु नहुने पनि पूर्वराजाले सन्देशमा व्यक्त गरेका छन्।

वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुने जनाउँदै उनले देश र भविष्यलाई नेपाली जनतामा जागरुकता पैदा भएकोलाई सकरात्मक रूपमा लिए ।

चैत १५ गते राजावादीको  प्रदर्शन हिंसात्मक बन्दा  आगजनी, तोडफोड र लुटपाट भएको थियो। दुई जनाले अनाहकमा ज्यान गुमाउनु पर्यो ।

 

यस्तो छ सन्देशको पूरा पाठ:

प्रिय, आत्मीय दाजुभाइ, दिदीबहिनीहरू,

हाम्रो घरआँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ।  

नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साहसाथ आएको नयाँ वर्षको उपलक्ष्यमा देश-विदेशमा रहेबसेका  सम्पूर्ण नेपालीहरूको सुख र शान्तिको मंगलमय शुभकामना।

हरेक नयाँ वर्ष नयाँ आशा र विश्वासका साथ आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भयो।

समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, विचार र अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर, केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।

नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद अरू हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो-नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ।

नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, यसलाई हामीले सकरात्मक रूपमा लिएका छौँ।

वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय छ। देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर, समृद्ध मुलुक बनाउने जुन जागरुकता पैदा भएको छ, २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ।

मुलकमा व्याप्त अशान्ति अराजकता निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको विदितै छ।

राष्ट्रियता र प्रजान्त्रलाई मूल कार्य मान्दै जनभावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ।  

वर्तमान बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यस्रोत जनता नै हुन् भन्ने सदैव स्थापित हुनुपर्दछ। राष्ट्रनिर्माता  बडामहाराधिराज पृथ्वीनारायण शाहको दिव्यपदेशलाई मूल मन्त्र सोच्नुमा के होला?

सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो।  

विश्वको बदलिँदो परिस्थितिलाई मनन् गर्दै विश्वव्यापीकरण गर्दै समस्यालाई चुनौतीको रूपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरेको नेपालजस्तो विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ।

स्वदेशी सामग्रीको उत्पादन र खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाट अर्थतन्त्र चलायमान बनाउनुपर्नेछ।

विश्वकै उत्कृष्ट यस भूमिमा बाँच्नसमेत गाह्रो हुने स्थिति भएपछि बढ्दो युवा पलायनलाई  रोकि युवा शक्तिको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्नुपर्दछ।

युवा स्वरोजगारको विकल्प खोजी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नपर्ने आजको पहिलो आवश्यकता बनेको छ।

सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनुपरेको छ। विश्वभरि छरिरहेका नेपालीहरू एकताको सुत्रमा बाँधिन अब ढिला गर्नुहुँदैन।

आफ्ना ज्ञान, सीप र सामर्थ्य मात्रै होइन, त्यहाँ आर्जेको पुँजी, स्रोत, साधन पनि नेपालमै लगाउनुपर्दछ भन्ने भावना सबैमा जागृत गराउनुपरेको छ।

प्रकृतिले दिएको सुन्दर हिमवत् खण्ड सिँगार्न र विकासको विगुल फुक्न कसरी लाग्ने र लगाउने स्वदेश फर्क स्वदेशनै स्वर्ग भन्ने अभियान चलाउनु आजको आवश्यकता भएको छ।

जनभावना चाहना बुझी मुलुकको समग्र संरचनामै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ। शिक्षा स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरूमा आमूल परिवर्तन र सुधार गरी यिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ। युग प्रविधिको हो।  सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ। सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्दछ।

हामी अस्थिर, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ।

मुलुकको गिर्दो अर्थव्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको  राष्ट्रियता-राष्ट्रिय एकता सामाजिक सद्भाव मौलिक धर्म, जनस्तरमा बढेको असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो।  

नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने गरी झाँगिएको छ। यो स्थितिमा नयाँ वर्षलाई उपलब्धिमूलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ।  

नेपाली-नेपालीबीच द्वन्द्व नहोस् , परस्पर अविश्वास र हिंसाको दुखद् मनःस्थिति नबनोस्। देशवासीहरू कुनै पनि नाम र निहुँमा ध्रुवीकरण नबनुन् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौँ।

नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थलाई हामीले आत्मसात् गरेका छौँ। सबैले यसैलाई आत्मबोध गर्नुपर्छ भन्ने ठान्दछौँ।

हाम्रा आह्वान हाम्रा कसैका निजी स्वार्थका निमित्त होइन। कुनै खालको सैद्धान्तिक वाद र विचारको होइन। समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो। आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो। अनि आफ्नो स्वतः अस्तित्व हामी आफैँले उठाउने हो।

संसार धेरै अघि बढिसक्यो। तर हामी यो वा त्यो वादको चक्रब्यूहमा फसेका छौँ। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ।  

हरेक समस्याको समाधान संवाद, समन्वयन र सहकार्यबाट हुन सक्छ। आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ, बनाउन सकिन्छ भन्ने हामीले आशा लिएका छौँ।

नयाँ वर्षले नयाँ आशा, नयाँ उत्साह उमंग ल्याओस् । सुनौलो भविष्यको सुनिश्चितता होस्।

श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।

जय नेपाल।