पर्सा, वैशाख १ :

हनुमान जयन्तीका अवसरमा शनिबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न विषम परिस्थिति नयाँ वर्ष वीरगञ्जमा प्रभावित भएको छ ।

गत चैत ३० गते हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्रा दुई समूहबीचको झडपपछि नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा (कर्फ्यु) आदेशको कारणले वीरगञ्जवासीको नयाँवर्ष अन्य वर्षको जस्तै मनाउन पाएनन् ।

नयाँ वर्ष लक्षित गरेर वीरगञ्ज महानगरले आयोजना गरेको रात्रि बजार पनि निषेधाज्ञाको कारणले शनिबार र आइतबार दुई दिन सञ्चालन हुन नपाएपछि स्थगित गरिएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तले वीरगञ्जमा उत्पन्न भएको विषम परिस्थितिको कारणले ‘बुकिङ’ भएका होटल पनि धमाधम खाली भएको जानकारी दिए ।

‘‘नयाँवर्ष मनाउन आएका भारतीय पाहुना पनि निषेधाज्ञाको कारणले होटल छाडेर फर्किएको र पाहुना एकाएक छाडेर जाँदा यहाँको पर्यटन व्यवसायी झनै धराशायी हुने अवस्थामा पुगेको अध्यक्ष पन्तले बताए ।

नेपाली नयाँ वर्षको ‘इभ’ तथा नयाँवर्षको दिन वीरगञ्जका होटल भारतीय पाहुना तथा स्वदेशी पर्यटकले भरिभराउ हुने गर्दथ्यो । तर, अहिले भने निषेधाज्ञा आदेशको कारणले कोही पनि व्यक्ति घरबाट निस्किन पाएनन् । नयाँ वर्षको पूर्वसन्ध्यामा निषेधाज्ञा चैत ३० गते बेलुका  ६ः३० बजेदेखि चैत ३१ गते रातको १२ बजेसम्म निरन्तर रुपमा निषेधाज्ञा जारी भएको थियो ।

उनले नयाँ वर्षको पूर्वसन्ध्यामा वीरगञ्जका होटल ५५ प्रतिशत ‘अंकुपेन्सी’ भएको भए पनि अहिले पहुना होटल खाली गरेर छाडेर गएको दाबी गरे । वीरगञ्जमा भारतीय तथा अन्य मुलुकका पर्यटकलाई लक्षित गरेर क्यासिनोसहितका सुविधासम्पन्न तारे होटल पनि सञ्चालनमा रहेका छन् । 

वीरगञ्ज बजार क्षेत्रमा मात्रै साना ठूला गरेर ८५ भन्दा धेरै होटल तथा लज रहेका छन् ।‘‘बन्द हड्तालको कारणले होटलमात्रै नभएर सबै खालका व्यापार व्यवसायमा प्रत्यक्ष असर पार्दै आइरहेको उनले बताए ।

बन्द ,हड्ताल, निषेधाज्ञा लगायतका गतिविधि सधैँका लागि बन्द गर्नुपर्ने भन्दै उनले यस्तो गतिविधि हुँदा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित हुने गरेको बताए ।