काठमाडौं, वैशाख १ :

नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्त्वपूर्ण वर्षका रुपमा रह्यो । भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ ।

यस्तै फुटबल, क्रिकेटजस्ता खेलमा केही खेलाडीले विदेशी क्लबमा आबद्ध रहेर खेल्न पाउनु पनि नेपालक लागि गौरवको विषय बन्ने नै भयो ।

विगतको तुलनामा प्रतियोगिताहरुको आयोजना तथा अन्तर्राष्ट्रिय सहभागिता घटे पनि एक वर्षमा केही उल्लेखनीय नतिजा पनि हासिल भएका छन् ।

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले इतिहासमै पहिलोपटक पारा ओलम्पिकमा कास्य पदक जित्नु महत्त्वपूर्ण उपलब्धि थियो ।

यस्तै देशको प्राथमिकतामा पर्न नसकेको ‘खोखो’ खेलको विश्व च्याम्पियनसिपमा नेपाल उपविजेता बन्नु, कराते खेलाडी एरिका गुरुङले अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुजस्ता सफलताले मुलुकलाई गौरवान्वित बनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले ‘टी-ट्वेन्टी’ अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय विकेटको रेकर्ड पुर्‍याएर विश्वमै छिटो विकेट लिनेहरुमा दोस्रो स्थानमा पुग्न सफल हुनु, कतार विरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीद्वारा एक ओभरमा ६ छक्का प्रहारजस्ता कीर्तिमान साधारण उपलब्धि होइनन् ।

यसै अवधिमा काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालनका लागि ‘फ्लडलाइट’ जडान तथा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण एवं रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यक्तिगत तवरबाट बनाइएको क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न हुनुजस्ता प्रगति पनि भएका छन् ।

तीनपटक मिति घोषणा भएर पनि दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नु, नेपाल ओलम्पिक कमिटीमा तालाबन्दी हुनु, कैयौँ खेलका राष्ट्रिय प्रतियोगिता नहुनु, प्रदेशस्तरमा खेलका गतिविधि सन्तोषजनक नहुनुजस्ता अप्रिय सन्दर्भ पनि खेलकुद क्षेत्रमा नभएका होइनन् ।

गत असोज १२ गते परेको भीषण पानी तथा त्यसपछिको बाढी-पहिरोमा परी मकवानपुरस्थित एन्फा एकेडेमी फुटबल प्रशिक्षणमा रहेका ६ जनाको दुःखद निधन पनि यो सालको बिर्सिन नसकिने घटनाका रुपमा लिनुपर्छ । प्रस्तुत सामग्रीमा २०८१ सालको खेलकुदसम्बन्धी केही प्रमुख प्रसङ्ग उल्लेख गरिएको छ ।

पारा ओलम्पिकमा पहिलो पदक
सन् २०२२ मा चीनमा भएको पारा एसियाली खेलकुदमा पहिलो ऐतिहासिक कांस्य पदक जितेर चर्चामा आएकी पलेशा गोवर्धनले आफ्नो इतिहासलाई दोहोर्‍याएकी छिन् ।

सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक खेलकुद सम्पन्न भएलगत्तै आयोजित पारा ओलम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्धन कांस्य पदक जितेर मुलुकलाई पहिलोपटक पारा ओलम्पिकको आधिकारिक पदक दिलाउन सफल भइन् ।

उनले महिला ५७ केजी तौल समूहको ‘रिपाचेज’को फाइनलमा सर्बियाकी खेलाडीलाई पराजित गरी पदक जितेकी थिइन् । उनी पहिलो खेलमा भेनेजुयलाकी खेलाडीलाई पराजित गर्दै ‘क्वाटर फाइनल’मा प्रवेश गर्न सफल भएकी हुन् ।

उनी क्वाटरफाइनलमा ब्राजिलकी खेलाडीसँग भने हारेकी थिइन् । रिपाचेज चरणमा फ्रान्स र सर्बियाकी खेलाडीलाई हराएर पलेशा नेपालको पहिलो ओलम्पिक पदकको हकदार बनेकी हुन् ।

ओलम्पिकमा कमजोर सहभागिता
पेरिसमा सम्पन्न ओलम्पिकमा नेपालको १५औँ सहभागिता रहे पनि उपलब्धि भने नगन्य रह्यो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन पुगेका नेपालका पहिलो टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ सेनेगलका खेलाडीसँग ‘४-०’को सोझो सेटले पराजित भएका थिए ।

महिला म्याराथनमा धाविका सन्तोषी श्रेष्ठ ७९औँ भएकी थिइन् । उक्त प्रतिस्पर्धामा ९२ जनाको सहभागिता रहेको थियो । नेपाली स्विमिङ खेलाडी एलेक्जेण्डर शाह पुरुषको एक सय मिटर दूरीको ‘फ्रिस्टाइल इभेन्टस’मा हिटस प्रतिस्पर्धामै सीमित रही कूल सहभागीहरुमध्ये ५९औँ स्थानमा रहे ।

२०० मिटर दूरीको महिला फ्रिस्टाइलमा डुबाना लामा पनि हिटसका प्रतिस्पर्धीहरुमध्ये पुछारमा रहेकी थिइन् । जुडोमा मनिता श्रेष्ठ पहिलो भिडन्तमै सर्बियाकी खेलाडीसँग ‘१०-०’ अङ्कले हार्न पुगिन् । यस्तै सुटिङ खेलतर्फ १० मिटर दूरीको एयरराइफल इभेन्टसमा सुस्मिता नेपाल ४२औँ स्थानमा पुगेकी थिइन् ।

ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्क, आयरल्याण्ड तथा इजरायलका खेलाडीसँग पराजित भएका थिए । ओलम्पिकमा नेपाली खेलाडीहरुले उचित खेल प्रदर्शन गर्न सक्ने सम्भावना भएका खेलको पदक लक्षित दीर्घकालीन प्रशिक्षण सञ्चालन नगरेसम्म ओलम्पिकमा निरन्तर सहभागिताबाट खासै नतिजा नआउने सन्देश पेरिसमा नेपाली खेलाडीहरुको प्रदर्शनले दिएको थियो ।

ओलम्पिक कमिटीमा ताला
अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था नेपाल ओलम्पिक कमिटीको कार्यालयमा ताला लाग्नु पनि यस वर्षको खेलकुदजगत्का लागि दुःखद घटना बन्न पुग्यो ।

युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा सो ताला लगाइएको थियो । ओलम्पिक कमिटीको केही समयअघि सम्पन्न निर्वाचनप्रति असहमति जनाउँदै कार्यालयमा ताला लगाइएको थियो ।

नेपालले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा ओलम्पिक कमिटीको झन्डामुनि सहभागिता जनाउँदै आइरहेको छ । ओलम्पिक कमिटीका नयाँ निर्वाचित टोलीलाई हालसम्म सरकारका तर्फबाट मान्यता प्रदान गरिएको छैन ।

यसले गर्दा नेपालमा ओलम्पिक गतिविधिलाई गम्भीर असर पर्नाका साथै आगामी वर्ष पाकिस्तानमा आयोजना हुने दक्षिण एसियाली खेलकुदलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योल पर्न सक्ने देखिएको छ ।

बिर्सन नसकिने फुटबल
विगतमा ओझेलमा परेको महिला फुटबल विस्तारै लयमा फर्कंदै छ । तर साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा केही वर्षदेखि नै पराजय भोग्दै आइरहेको नेपाली टोली २०८१ सालमा पनि उपाधि विजेता बन्न सकेन ।

नेपाली टोलीले यस प्रतियोगिताको फाइनलमा पराजय ब्यहोरेको छपटक भइसकेको छ । घरेलु मैदानमा दशौँ हजार दर्शकको उपस्थितिमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दागर्दै पनि बङ्गलादेशको टोलीसँग हार ब्यहोर्नु परेको थियो ।

यसअघि सन् २०२२ मा नेपाल बङ्गलादेशसँग नै फाइनलमा पराजित भएको थियो । नेपाली टोलीको पराजय भएपछि नेपाली फुटबल प्रेमीहरुको चित्त बुझाउन कठिन भयो ।

यसअघि फाइनलमा भारतसँग चारपटक हार ब्यहोर्न परेको नेपाली टोलीले यसपटक भने सेमी फाइनलमा भारतविरुद्ध व्यापक रुपमा दबाब दिएर पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फेरि उप-विजेता
चारवटा मुलुकका टोलीहरुको सहभागिता रहेको ‘फोर नेसन्स’ महिला फुटबल प्रतियोगितामा पनि नेपाल उपविजेतामै सीमित हुनपुग्यो ।

प्रतियोगिताका सहभागी टोलीहरु कीर्गिस्तान, लेबनानलाई पराजित आफ्नो बलियो उपस्थिति देखाएको नेपालले म्यानमारसँग बराबरी खेल खेल्दै फाइनलमा पुगेको थियो । अन्तिम प्रतिस्पर्धामा नेपाल म्यानमारसँग पराजित हुन पुगको थियो ।

एउटै प्रतियोगिता खेल्दा लाखौँ रुपैयाँ
नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण पनि व्यावसायिक खेलको दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ ।

फुटबलका लागि पहिलोपटक अक्सन गरिएको यो प्रतियोगितामा नेपाली पुरुष खेलाडीहरु एउटै प्रतियोगिताका लागि डेढ लाखदेखि चार लाख रुपैयाँमा अनुबन्ध भई विभिन्न मुलुकका ख्यातिप्राप्त खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्दैछन् ।

विदेशी खेलाडीलाई अझ धेरै पारिश्रमिक दिएर नेपालमा खेल्न आमन्त्रण गरिएको छ । २०८२ मंसिरमा महिलाहरुको पनि फ्रेन्चाइज लिग हुने भएपछि महिला खेलाडीहरुमा पनि उत्साह थपिएको छ ।

भलिबलतर्फको सफलता
भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएपछि यसको गतिविधि र सफलता बढ्दै गएको छ । २०८१ सालमा पनि भलिबलमा विभिन्न उपलब्धि हासिल भएका छन् ।

नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल लिग नेसन्स च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो ।

लिग चरणमा श्रीलङ्का, माल्दिभ्स र भारतलाई पराजित गर्न सफल नेपाली टोलीले सेमी फाइनलमा इरानलाई पराजित गरेको थियो ।

नेपाली टोली आफूले लिग चरणमा हराइसकेको भारतीय टोलीसँग फाइनलमा हारेर उपाधि जित्नबाट वञ्चित भएको थियो । माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गरेर प्रतियोगिता च्याम्पियन बनेको नेपाली टोलीले लिग चरणकै पाँचवटा खेल जितेर उपाधि हात पार्न सफल भएको थियो ।

नेपालको पुरुष ‘टी-२०’ भलिबल टोली काभा पुरुष भलिबल च्याम्पियनसिपको कोलम्बोमा भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भई दोस्रो भएको थियो ।

एनपीएल क्रिकेटको रौनक
अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने प्रमुख खेलमा क्रिकेट पर्दछ । क्रिकेटका लागि २०८१ साल व्यस्तताको वर्ष रह्यो । नेपाली दर्शकहरु नेपाली क्रिकेट खेलाडीहरुको टी-२० विश्वकप खेल हेर्न अमेरिकासमेत पुगेबाट नेपालमा क्रिकेटको लोकप्रियता कति रहेछ भनेर आकलन गर्न सकिन्छ ।

नेपालमा यो वर्ष आयोजना भएका खेलकुद प्रतियोगितामध्ये दिनहुँ अत्यधिक दर्शकहरुको उपस्थिति रहेको नेपाल प्रिमियर लिग एनपिएलको क्रिकेटको रौनक पनि बिर्सन नसक्ने घटनाका रुपमा रह्यो ।

नेपाली तथा विभिन्न मुलुकका ख्यातिप्राप्त क्रिकेट खेलाडीहरुले एकसाथ निजी क्षेत्रको लगानी रहेको एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गरेका थिए । काठमाडौँमा नेपाल क्रिकेट सङ्घले आयोजना गरेको घरेलु प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगिता मानिएको एनपिएलमा खेलाडीहरुको पारिश्रमिक तथा पुरस्कारमै मात्र करोडौँ रुपैयाँ खर्च गरिएको थियो ।