काठमाडौं, वैशाख ३ :

मर्यादित महिनावारीसम्बन्धी चारदिने अन्तर्राष्ट्रिय मिडिया तालिम काठमाडौंमा सुरु भएको छ ।

तालिममा नेपालसहित भारत, श्रीलंका, केन्या, पाकिस्तानका पत्रकार सहभागी छन् । दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी सञ्जालले आयोजना गरेको तालिममा महिनावारी विभेदका बहुआयामिक पक्षबारे छलफल हुनेछ । तालिमका विश्वमै नयाँ अवधारणाका रुपमा रहेको मर्यादित महिनावारीसम्बन्धी सवालमा छलफल हुनेछ ।

तालिमका लागि २० देशबाट आवेदन आएकामा प्राथमिकता, रुचि र सहजताका आधारमा पाँच देशका सहभागी छनोट गरिएको हो । सहभागिता छनोटमा अन्तर्राष्ट्रिय मिडिया/म्यागजिनमा सामग्री प्रकाशन गर्ने, महिनावारी केन्द्रित सामग्री उत्पादन गर्ने र उनीहरूको सोच तथा बुझाइ मर्यादित महिनावारी अभियानको उद्देश्यसँग मेल खानेजस्ता मापदण्ड अपनाइएको थियो ।

महिनावारी सिद्धान्तका प्रतिपादक तालिमका मुख्य प्रशिक्षक राधा पौडेलका अनुसार, मर्यादित महिनावारीको पैरवीलाई सशक्त बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ । उनले मर्यादित महिनावारी विश्वका लागि नै नयाँ अवधारणा रहेकाले यो सबैको सरोकार हो भने बुझाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहेका बताइन् । तालिममा सहभागीहरूलाई मानवअधिकार, नारीवादी र लैंगिक दृष्टिकोणबाट मर्यादित महिनावारीका अवधारणाबारे जानकारी दिने कार्यक्रम छ ।

तालिममा महिनावारी विभेदलाई संरचनागत, सामाजिक, राजनीतिक र मानवअधिकारसँग गाँसिएको बहुआयामिक मुद्दाका रूपमा खोतलिने प्रयास गरिनेछ । मुख्य प्रशिक्षकका रूपमा अभियानकर्ता राधा पौडेल रहेकी छन् । जसले महिनावारीसम्बन्धी मौनता तोड्ने र त्यसलाई मर्यादाको विमर्शमा रूपान्तरण गर्ने कार्यमा झन्डै चार दशकदेखि संघर्ष गरिरहेकी छन् ।

तालिममा सञ्चारमाध्यमले महिनावारी विभेदका सवालहरु कसरी उठाएका छन्, कुन मुद्दाहरू ओझेलमा छन् र कसरी यसलाई शक्तिशाली सामाजिक परिवर्तनको औजार बनाइन्छ भन्नेबारे गहिरो छलफल हुनेछ ।