काठमाडौं, वैशाख ३ :

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेस्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ ।

अस्पतालबाट उत्पादन भएको हानिकारक फोहोरको उचित व्यवस्थापन नभएपछि काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।

ऐनबमोजिम रसायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने व्यवस्था छ । यही कसुर दोहोर्‍याएमा पहिलोपटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।

महानगरका अनुसार यस वर्ष मात्रै पनि एभरेस्ट अस्पतालको फोहोर व्यवस्थापन अनुगमन गरिएको ३ पटक भइसकेको छ । विगतको अनुगमन जोड्ने हो भने ६ पटकभन्दा धेरै भइसक्यो । यसरी गरिएको अनुगमनका क्रममा सुधारका लागि सुझाव र सुधारको मौका दिने, अति लापरबाही देखिए फोहोर ढुवानीमा रोक लगाउने गरिएको थियो ।

अस्पतालको अभ्यास चित्तबुझ्दो नभएपछि निगरानी निरन्तर गरिएको महानगरले जनाएको छ । वातावरण व्यवस्थापन विभागका वरिष्ठ इन्जिनियर निशा कोइराला भन्छिन्, ‘गत असोज ३ गते भएको अनुगमनका क्रममा सुधार नदेखिएपछि असोज १४ गते अस्पतालका अधिकारीहरुलाई वातावरण व्यवस्थापन विभागका बोलाएर मापदण्डका विषयमा जानकारी दिँदै अस्पतालले पूरा गर्नुपर्ने दायित्वका विषयमा सम्झाइएको थियो । त्यसअघि अस्पतालले विभिन्न संस्थाहरुको नाम लिएर व्यवस्थापनको जिम्मेवारी दिएको बताउँदै आएका थियो । महानगरपालिकाले भने हानिकारक फोहोर व्यवस्थापनको दायित्व अरूलाई दिन नमिल्ने, हानिकारक फोहोरलाई आफैँ निर्मलीकरणको प्रबन्ध गर्नुपर्छ भन्दै आएको थियो ।’

अस्पतालजन्य फोहोर व्यवस्थापन अनुगमन गर्ने क्रममा २०७९ सालमा त्रुटि पाइएपछि ९ बुँदे सुधारका सुझाव दिएर पत्र पठाइएको महानगरले जनाएको छ । महानगरका अनुसार पत्रबाट गर्नु भनेका कामहरु अहिले पनि पूर्ण रुपमा भएका छैनन् । फोहोर वर्गीकरण गर्ने र वर्गीकरण गरिएको फोहोर जम्मा गर्ने कोठा बनाइएको छैन । सबै फोहोर एउटै हलमा थुप्रो थुप्रो बनाएर राखिएको छ । कुन ठाउँमा कस्तो फोहोर छ, भन्ने कुराको स्पष्ट संकेतका लागि अक्षर र चित्र दुवै राख्नुपर्ने सुझावलाई अस्पतालले ख्याल नगरेको महानगरले दाबी गरेको छ । वरिष्ठ इन्जिनियर कोइरालाका अनुसार अहिले पनि वर्गीकरणमा काम गर्ने व्यक्ति आफैँले हातले लेखेर कार्ड बोर्ड राख्नेबाहेक अस्पतालका तर्फबाट पहिचान वर्गीकरणको काम भएको देखिँदैन ।

फोहोर वर्गीकरण गर्न वार्डमा राखिएका बाल्टिनको रङ संकेत र रङअनुसारको प्रयोगमा अहिले पनि ख्याल गरिएको छैन । अनुगमनका क्रममा शौचालयको प्रवेशद्वारमा हानिकारक फोहोर राख्ने रातो बाल्टिन राखिएको थियो । यसअघि हानिकारक फोहोर निर्मलीकरण गर्ने अटोक्लेभ मेसिनसम्म पनि थिएन । बिग्रिएको अटोक्लेभ मर्मत नगरेपछि यस्तो अवस्था थियो । अहिले अटोक्लेभ मेसिन त छ, तर यसको सञ्चालन विधि मिलेको छैन । वरिष्ठ इन्जिनियर कोइराला भन्छिन्, ‘शल्यक्रिया, प्रसूतिजस्ता कार्यबाट उत्पादन भएको फोहोर पनि बट्टामा प्याक गरेर राखेको अवस्थामा भेटिएको छ । यो मापदण्डविपरीतको काम हो । चरम लापरबाही हो ।’

अस्पतालको फोहोर संकलन गर्ने गरिएको कक्षमा भेन्टिलेटर नभएका कारण हावा दोहोरो हुन सक्ने अवस्था छैन । फोहोर वर्गीकरणका काम गरिरहेका प्रभाव खड्का (नाम परिवर्तन) भन्छन्, ‘गर्मीमा धेरै गर्मी छ । म हरेक दिन १ बजेदेखि ४ बजेसम्म काम गर्छु । गर्मी भएर हपक्क हुन्छ । कडा गन्ध आउँछ । सर म्याडमलाई भनेको बनाइदिन्छु त भन्नुहुन्छ । तर, बनाइदिनुभएको छैन ।’

फोहोरलाई स्रोतमा वर्गीकरण नगर्नु, वर्गीकरण गरिएको फोहोरको संकलन कक्षसम्म सुरक्षित ढुवानी नहुनु, ढुवानी गरेर भण्डारण कक्षमा लगेपछि मात्र जोखिमयुक्त फोहोर वर्गीकरण गर्न थाल्नु, जोखिमयुक्त फोहोर निर्मलीकरण गरेपछि वर्गीकरण नगर्नु, प्रकृतिअनुसार भण्डारण उपयुक्त नहुनु, निर्मलीकरणका साधन तथा उपकरण नहुनु, भएकाहरुको पनि उचित प्रयोग नहुनु हस्पिटलका लापरबाही रहेको महानगरले जनाएको छ ।