काठमाडौं, वैशाख ३ :

 इसेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।  

कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  कालीमाटीबाट पक्राउ गरेको हो।  बुढाले करिब १ करोड २ लाख रुपैयाँ बराबरको रकम चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बुढाले विभिन्न व्यक्तिलाई ‘द अलर्ट’, ‘एटी अलर्ट’ जस्ता नाममा फिसिङ एसएमएस पठाउँथे। ती सन्देशमार्फत ‘तपाईंको खाता सस्पेन्ड हुन लागेको छ’ भन्ने झूटा चेतावनी दिँदै खाता भेरिफिकेसनका लागि लिंक खोल्न लगाइन्थ्यो। उक्त फिसिङ लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताका इसेवा खातामा अनधिकृत पहुँच बनाइन्थ्यो।

यही तरिकाबाट उनले ४ हजारभन्दा बढी व्यक्तिको इसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इन्नोभेसन प्रा.लि. नामक कम्पनीका मर्चेन्ट खाताहरूमा ट्रान्सफर गराएका थिए।  उनलाई हाल आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।