काठमाडौँ, वैशाख ४ :

बिस्का जात्राको आठौँ दिन आज भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) धुमधामका साथ मनाएको छ । 

आज बिहानैदेखि बाजागाजासहितको झाँकी र भजनकीर्तन गर्दै देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।

जात्रामा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोसाक हाकु पटासी र दौरासुरुवालमा सजिएर सहभागी भएका थिए । देवीदेवतालाई सगुनसहित पूजा गर्न आ- आफ्ना द्योः छें (देव घर) बाट निकाली चोक तथा डबलीमा राखिएको थियो ।    

यो पूजा प्राचीनकालदेखि नै हुँदै आएको हो । बिस्का जात्रामा विध्न बाधा वा केही भुलचुक भए क्षमायाचनाका निम्ति गरिने पूजालाई सगुन जात्राका रुपमा मनाउने प्रचलन प्रारम्भ भएको स्थानीय संस्कृतिका जानकार ओम धौभडेलले बताए ।