काठमाडौँ, वैशाख ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । 

पार्टी सचिवालय बैठकको निर्णय र पार्टी कार्यवाहक सभापतिको आव्हानमा केन्द्रीय समितिको बैठक बोलाएको रास्वपाले जनाएको छ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठककालागि विभिन्न चारवटा एजेन्डा  तय भएको पार्टीले जनाएको छ । जसअनुसार अघिल्लो बैठकको निर्णयसहितको पार्टी गतिविधिमा  केन्द्रीय सदस्यहरूको रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्ने पहिलो एजेन्डा रहेको छ । 

दोस्रो एजेण्डामा महाधिवेशन कार्य विवरणका सम्बन्धमा रहेको छ । रास्वपाले वैशाखको अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको छ ।

बैठकमा महाधिवेशनबाहेक विशेष रिपोर्टिङ (जनयात्रा कार्यक्रम, ब्लु प्रिन्ट कार्यदल, लिडरसिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरण) र विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।