काठमाडौं, वैशाख ४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेताहरूको रिहाइको माग गर्दै वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले चैत  १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरूको रिहाइको माग गर्दै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत नेता/ कार्यकर्ताको रिहाइका लागि आन्दोलन सशक्त पार्ने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए  । जसअनुसार वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने भएको छ ।

राप्रपाले आन्दोलनलाई थप व्यवस्थित र सशक्त बनाउन आन्दोलन विशेष समिति  पनि बनाउने भएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्ने राप्रपाको निर्णयले त्यसदिन सुरक्षाकर्मीसँग झडप हुने स्थिति देखिएको छ ।