काठमाडौं, वैशाख ५ :

गभर्नर बन्ने सुनिश्चित भएसँगै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई १८औँ गभर्नर बनाउने समझदारी भएको थियो ।

सत्ता साझेदार दलहरू एमाले र कांग्रेसले भट्टलाई गभर्नर बनाउने सुनिश्चित भएसँगै भट्टले शुक्रबार राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनालाई राजीनामा बुझाएका हुन् ।

सरकारले अर्थमन्त्री विष्णु पौडेलका नेतृत्वको गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन् । सिफारिस समितिले भट्टसहित ३ जनाको नाम मन्त्रिपरिषद्‌मा पठाउनेछ । त्यसपछि मात्र गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ ।