काठमाडौं, वैशाख ६ :

काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा अहिले सिमसिमे पानी परिरहेको छ । देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज देशभर आंशिकदेखि साधारणत: बदली रहनेछ । कोसी प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही बाँकी भू-भागमा सफादेखि आंशिक बदली रहनेछ ।

कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।