काठमाडौं, वैशाख ६ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध ८० लाख ५२ हजार रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ वैशाख २४ गते फैसला गरेको थियो । सो फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

यस्तै, कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेलसमेतका प्रतिवादीविरुद्ध आयोगले २८ लाख ३७ हजार दुई सय १७ रुपैयाँबराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेषले २०८१ जेठ २० गते फैसला गरेको थियो ।

आयोगले ३८ लाख ७६ हजार दुई सय ७० रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोगमा महावै गाउँपालिका कालीकोटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह समेतका प्रतिवादी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८१ भदौ १ गते फैसला गरेको थियो ।

त्यस्तै, आयोगले शैल्यशखिर गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट समेतका प्रतिवादी २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँबराबरको भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको थियो । सो मुद्दामा आयोगले २०८० फागुन २२ गते फैसला गरेको थियो ।

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँबराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा आयोगले २०८१ असोज ६ गते फैसला गरेको थियो । विशेषले गरेको फैसलाविरुद्ध आयोगले छुट्टाछुट्टै शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।