दिल्ली, वैशाख ६ :

दिल्लीको मुस्तफाबाद क्षेत्रस्थित चारतले भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। शुक्रबार राति करिब साढे दुई बजे उक्त भवन अचानक भत्किएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जना एउटै परिवारका रहेका छन्। भवनका मालिक तहसीनसहित उनका ६ जना पारिवारिक सदस्यको घटनास्थलमै मृत्यु भएको छ। मृतकमध्ये ३ महिला र ४ बालबालिका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार जीटीबी अस्पतालमा जारी रहेको दिल्ली प्रहरीले जनाएको छ।

२० वर्ष पुरानो चारतले भवन पूर्ण रूपमा भत्किएको जानकारी पाउँदा तत्कालै एनडीआरएफ र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो। प्रहरीका अनुसार भवन भित्र दुर्घटनाको समयमा २२ जना रहेका थिए।

शुक्रबार राति दिल्लीमा मौसममा अचानक परिवर्तन आएको थियो। तीव्र हावाहुरी र वर्षाका कारण विभिन्न क्षेत्रमा क्षति पुगेको छ। प्रारम्भिक अनुमानअनुसार यही मौसमी प्रभावकै कारण मुस्तफाबादको उक्त भवन भत्किएको हुन सक्ने आशंका गरिएको छ।