
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (आइतबार) थाइल्यान्डको बैंकक प्रस्थान गरेकी छन् ।
यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक (यूएनस्केप) को ८१औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ गएको राणाको सचिवालयले जनाएको छ ।
नेपाल हाल यूएनस्केपको अध्यक्ष रहेकाले परराष्ट्रमन्त्री राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ । त्यस सत्रलाई नेपालका तर्फबाट राणाले सम्बोधन गर्नेछिन् ।
यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ । सो सत्रमा राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने कार्यक्रम छ ।
सचिवालयका अनुसार राणा नेतृत्वको टोली अप्रिल २५ मा स्वदेश फर्कने छ ।