
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार १६.६८ अंकले घटेको छ । योसँगै नेप्से २,७०६.५१ को विन्दुमा रोकिएको छ । सेन्सिटिभ इन्डेक्स पनि १.६४ अंकले घटेर ४५६.५८ अंकमा झरेको छ ।
नेप्सेमा आइतबार ३२८ कम्पनीको ७४ हजार ४५ पटकको कारोबारमा दुई करोड १३ लाख २३ हजार ९६७ कित्ता सेयर किनबेच भए । जसमा कुल कारोबार रकम आठ अर्ब ४३ करोड ३५ लाख ८९ हजार सात सय ८५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आइतबार ५३ कम्पनीको सेयर मूल्य बढ्दा १९२ कम्पनीको घट्यो । इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य मात्र स्थिर रह्यो । जसमा बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड परेको छ ।
बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने राधी जलविद्युत कम्पनी लिमिटेड पहिलो स्थानमा परेको छ । राधीको ६८ करोड ७६ लाख ९७ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७३.५० रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने अन्तिम चरणमा रहँदा पनि त्यसको प्रभाव सेयर बजारमा देखिएन । सामान्यत: नयाँ व्यक्ति गभर्नरमा आउने कुराले बजारमा उत्साह देखिने गर्छ । गभर्नरमा राष्ट्र बैंककै कार्यकारी निर्देशक रहेका गुणाकर भट्ट बन्ने लगभग पक्काजस्तो बनिसक्दा पनि त्यसको असर बजारमा सकारात्मक देखिएन ।