
फाइल तस्बिर ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् ।
गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी वैशाख ९ गते दुईदिने भ्रमणका लागि नेपाल आउने भएका हुन् ।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले वैशाख ९ गते भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोसी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा-वसन्तपुर-बानेश्वर-तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सबस्टेशनमा उद्घाटन गर्ने कार्यक्रम छ ।
उनले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् । सोही दिन दुई देशले संयुक्त रुपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
वैशाख १० गते भारतीय विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोहीदिन उनले प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । विद्युत्मन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम छ ।