पोखरा, भदौ १४ :

सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले) बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ ।

गण्डकी प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहनुभएको हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । 

नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

काँग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको उहाँले बताउनुभयो । आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरुको शपथ गराउने तयारी भइरहेको उहाँको भनाई छ ।

कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भने अझै सहमति हुनसकेको छैन । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाई समेत समेटेर सरकार पुनः गठन गर्ने काँग्रेसले जनाएको छ । 

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा झारिएको थियो । 

मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्न लाग्दा समेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन ।