
काठमाडौं, वैशाख ९ :
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने र तोकिएकै समयमा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । शर्माका अनुसार निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा नियमित हुनेछ ।
कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते (बिहीबार) देखि सञ्चालन भई २४ गते सकिने तालिका छ । देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानीकेन्द्रित आन्दोलनमा हुँदा परीक्षा हुने कि नहुने भन्नेमा अन्योल सिर्जना भइरहँदा बोर्डको यस्तो भनाइ आएको हो ।
साथै बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ ।