
नेपाल राष्ट्र बैंकको गभर्नर छनोट गर्न गठित समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र राष्ट्र बैंकका पूर्वगभर्नर भट्टराई सदस्य रहेका थिए । मन्त्रिपरिषद्को चैत ११ को बैठकले त्यस समिति गठन गरेको थियो ।
गभर्नर रिक्त भएको धेरै समय भइसक्दा पनि सिफारिस गर्न छनोट समितिको बैठक एकपटक पनि बस्न सकेको छैन । गभर्नर कुनै राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति वा सञ्चालकका हुन नहुने राष्ट्र बैंक ऐनमा भए पनि दलीय भागबन्डाको आधारमा गभर्नर नियुक्त हुँदै आएको छ ।
राष्ट्र बैंक गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुका अतिरिक्त आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, खमौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने ऐनमा उल्लेख छ ।