
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
धनगढीस्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नुगरेको स्पष्ट पार्नुभयो ।
स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उहाँको भनाई छ ।
राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उहाँले बताउनुभयो ।
अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको उल्लेख गर्नुभयो।
उहाँले धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला बनाउन भारतीय पक्ष सकारात्मक रहेको बताउँदै भारतका परराष्ट्रमन्त्रीले पनि यसबारे बिसिसिआई (भारतीय क्रिकेट कन्ट्रोल बोर्ड) सँग कुरा गरेको जानकारी दिनुभयो ।
गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताउनुभयो ।
इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रुपमा पहल गरिरहेको उहाँले बताउनुभयो ।
गौरा महेश्वरको पूजाअर्चनाका लागि परराष्ट्रमन्त्री राणा धनगढी पुग्नुभएको हो ।