
कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । यही ११ गतेदेखि सञ्चालन हुने परीक्षा प्रधानमन्त्रीको निर्देशनपछि सारिएको हो ।
परीक्षा १० दिनपछि सारेर वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । बोर्डका अध्यक्ष शर्मासँग भएको छलफलमा प्रधानमन्त्री केपी ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
अध्यक्ष शर्मासहितको टोली प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर छलफल गरेपछि प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएको र सोही निर्देशनअनुसार बोर्डको बैठक बसेर परीक्षा सारेर वैशाख २१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शर्मा र शिक्षा सचिव दीपक काफ्लेले परीक्षाको विषय प्रधानमन्त्रीलाई जानकारी गराउन र राय सुझाव लिन साँझ बालुवाटार पुगेका थिए ।
निजामती कर्मचारीले पनि परीक्षामा सहयोग नगर्ने र शिक्षकबिना परीक्षा सञ्चालन गर्ने निर्णय बिबादमा आएपछि बोर्डका पदाधिकारीले दिनभर शिक्षा मन्त्रालय र सरकारका विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरेका थिए ।
मंगलबार बिहान बसेको बोर्ड बैठकले शिक्षकलाई परीक्षामा सहभागी हुन आग्रह गर्दै सहभागी नभए कर्मचारीको सहयोगमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापान एक परीक्षा केन्द्रसहित एक हजार ५९१ परीक्षा केन्द्र गरिएको छ ।