
सत्तारूढ नेकपा एमालेले आज काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ आयोजना गर्दैछ। ‘जनताले जितेको दिन’ नारासहित आयोजना गरिएको यो कार्यक्रममा देशभरका युवालाई काठमाडौं बोलाइएको छ।
कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने जनाइएको छ। लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श गर्न आयोजना गरिएको कार्यक्रममा सातै प्रदेशबाट युवाहरुको सहभागिता रहनेछ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विभिन्न प्रदेशका वक्ताहरूले लोकतन्त्रमा युवाको भूमिकाबारे धारणा राख्नेछन्।
एमालेले यो कार्यक्रम लोकतन्त्रप्रति युवाहरूको समझदारी बढाउने र पार्टीको शक्ति प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरेको बताइएको छ। कार्यक्रममा सहभागी युवाहरू ठाउँठाउँमा भेला हुन थालेका छन्।
सुरक्षाका लागि काठमाडौं उपत्यकामा प्रहरीको उपस्थिति पनि बाक्लिएको छ। युथ सेलिब्रेसनमार्फत एमालेले आगामी दिनमा युवा शक्ति संगठित गर्ने तथा राजनीतिक परिचालनमा सक्रिय बनाउने संकेत दिन खोजेको छ।
