
निजी मेडिकल कलेजहरुले सरकारले तोकेको निर्वाह भत्ता नदिएको भन्दै आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।
श्रम शोषणविरुद्ध आवाज उठाउँदै उनीहरुले बिहीबार(आज) माइतीघर मण्डलामा प्रदर्शन गरे। सेतो एप्रोनमा लगाएर सडकमा उत्रिएका आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरे। आवासीय चिकित्सकहरु विगत २८ दिनदेखि सेवा सुविधाको माग गर्दै आन्दोलनरत छन्।
आयोगको माघ २५ गतेको १६औं बैठकले निजी मेडिकल कलेजहरुलाई सरकारी आठौँ तहअनुसार मासिक ४८ हजार रुपैयाँ भत्ता दिन निर्देशन दिएको थियो। तर, निजी कलेज सञ्चालकहरुले उक्त निर्देशनलाई अहिलेसम्म कार्यान्वयनमा नल्याएको चिकित्सकको आरोप छ।
प्रदर्शनकारी चिकित्सकहरुले स्वास्थ्य मन्त्रालयसम्म पुगेर विरोध जनाउने तयारी गरेका थिए, तर सुरक्षाकर्मीले उनीहरुलाई रोकेका छन्। उनीहरुले शुक्रबारदेखि देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी पनि दिएका छन्।
