ललितपुर, वैशाख ११ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समृद्ध मुलुक निर्माणमा इन्जिनियरको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एसोसिएसन (सिडेन) को आयोजनामा ललितपुरमा आयोजना गरेको भविष्य निर्माण : नवप्रवर्तन लचिलोपन र दिगो विकाससम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलनमा उनले मुलुकको विकासमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

‘विकास निर्माणमार्फत समृद्ध मुलुक निर्माण गर्न सरकार लागेको छ । यसमा इन्जिनियरको भूमिका महत्त्वपूर्ण रहन्छ,’ उनले भने । मन्त्री खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्ने धारणा पनि राखे ।

उनले मुलुकको आर्थिक विकासका लागि बाधक भएका कानुन संशोधन गर्दै अगाडि बढ्न सरकार लागेको बताए । ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको भन्दै उक्त लक्ष्य पूरा गर्दा थुप्रै इन्जिनियरले रोजगार पाउने उल्लेख गरे ।

बूढीगण्डकी आयोजनालाई मात्र अगाडि बढाउन सके पनि १७ हजार बढीले रोजगारी पाउने उनको भनाइ थियो । उनले मुलुकको विकासका लागि इन्जिनियरको सहयोग र सल्लाह अझ बढी आवश्यक रहेको बताए । इन्जिनियरविना देश विकास हुन नसक्ने मन्त्री खड्काको भनाइ छ । ऊर्जामन्त्री खड्काले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न चाहेको पनि बताए ।