
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई सरकारको भन्दा पनि आगामी निर्वाचनका बारेमा चिन्ता लिन आग्रह गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’कार्यक्रममा सम्बोधन गर्दै ओलीले सरकारको चिन्ता गर्न छाडेर मिसन ०८४ मा लाग्न आग्रह गरे ।
हालको सत्ता गठबन्धन स्थायित्व र स्थिरताका लागि गठन भएको दाबी गर्दै ओलीले कार्यकर्तालाई सरकारको भन्दा पनि ‘मिसन ८४’सफल बनाउन सक्रिय हुन आह्वान गरे।
‘अहिलेको सरकार नेकपा एमाले र कांग्रेसबीचको सहकार्यबाट बनेको हो। यो स्थायित्वका लागि गरिएको सम्झौता हो। तर, अब सरकारको हैन,’ओलीले भने, ‘चुनावको चिन्ता गर्नुपर्छ।’ सरकारबारे अनेक चर्चा भइरहेका बेला उनले सरकारभन्दा चुनावको चिन्ता गर्न आग्रह गरेका हुन् ।
उनले एमाले सधैं सरकार बनाउने वा जोगाउने पक्षमा मात्र नहुने प्रस्ट पारे। सरकार ढल्ने चर्चा भइरहेका बेला ओलीले अहिलेको सत्ता गठबन्धन दीर्घकालीन स्थिरताका लागि बनाइएको भन्दै आलोचकहरूप्रति कटाक्ष गरे।