
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको दाबी गरेकी छन् ।
थाइल्यान्डको बैंककमा आयोजित संयुक्त राष्ट्रसंघीय एक कार्यक्रममा सहभागी भएर आज (शुक्रबार) स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उनले यस्तो धारणा राखेकी हुन् । ‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले मनोरञ्जनका लागि चलाएको हल्ला हुनसक्छ,’ उनले भनिन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैंकक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा उनले सभापतिजी कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जानुभएको स्पष्ट गरिन् ।
आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको बताउँदै राणाले हिजै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग फोनमा कुराकानी गरेको पनि जानकारी दिइन् ।
परराष्ट्रमन्त्री राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएनस्केप) को ८१औं सत्रको अध्यक्षता गरी आज (शुक्रबार) स्वदेश फर्किएकी हुन् । यसै सिलसिलामा उनले अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गरेकी थिइन् ।
त्यस अवसरमा उनले यी राष्ट्रहरुको साझा चासोका विषयहरूका बारेमा नेपालका तर्फबाट धाराणा राखेकी थिइन् ।
उक्त अवसरमा नेपालका तर्फबाट राखिएको धारणाले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्धन गर्न सघाउ पुगेको महससु भएको पनि उनले बताइन् ।
राणाले कार्यक्रमको साइडलाइनमा इस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग आदान-प्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिइन् ।
भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु विकासोन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसंघका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको जानकारी पनि उनले दिइन् ।
साथै भ्रमणका क्रममा आफूले नेपालले जेठ २ देखि ४ सम्म काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादबारे संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवं नागरिक समाजका प्रतिनिधिहरूलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको जानकारी पनि राणाले दिइन् ।