काठमाडौं, वैशाख १२ :

प्रधानमन्त्री केपी ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा शुक्रबार गोरखा भूकम्पको १०औं स्मृति सभामा उनले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनर्निर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए ।

उनले विपद्‌बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता औंल्याए ।

उनले विपद्‌बाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गरे ।

भूकम्प गएर भत्किसकेपछि घर पुनर्निर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने ब ताए। यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘हामीले भूकम्पबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता छ । भत्किउन्जेल पर्खिने होइन, सकेसम्म पहिला नै कच्चा घर... हाम्रा पहाडतिर प्रायः घरहरु कस्ता छन् भने डल्ला डल्ला ढुंगा, नमिलाएका ढुंगा त्यस्ता ढुंगाहरुमा माटो मिसाएर त्यत्तिकै एउटा पर्खाल लगाएको हुन्छ,’ उनले भने, ‘अलिकति हल्लियो भने त्यो भत्किहाल्छ । धन्न भन्नुपर्छ, अहिलेसम्म पनि कतिपय यस्ता घरहरु बाँकी नै छन् ।’