
देशका तराई क्षेत्रमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको छ । शनिबार पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुझाएको छ ।
महाशाखाले शुक्रबार साँझ ७ बजे विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा भोलि (शनिबार) सम्म तातो लहर (हिट वेभ) को सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’
यस्तै महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तै- थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्छ ।
यसबाट बच्नका लागि गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह सुझाव लिनका लागि सर्वसाधारणमा महाशाखाले अपिल गरेको छ ।