काठमाडौं, वैशाख १४ :

शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।

नयाँ बानेश्वरमा शिक्षक आन्दोलनका क्रममा आइतबार दिउँसो प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा पत्रकार कार्कीको आँखामा चोट लागेको हो। घटनापछि उनलाई तत्काल सिभिल अस्पताल लगिएको थियो। त्यहाँबाट ट्रमा सेन्टर रिफर गरिए पनि आँखामा गम्भीर चोट देखिएपछि तिलगंगा आँखा अस्पतालमा भर्ना गरिएको हो।

प्राइम टेलिभिजनमा कार्यरत कार्कीलाई प्रहरीले प्रयोग गरेको पानीको फोहर (फोर्स वाटर) का कारण आँखामा चोट लागेको बताइएको छ। घटनापछि सुरक्षामा खटिएका एक प्रहरी अधिकारीले कार्कीलाई बोकेरै गाडीसम्म पुर्‍याएका थिए।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आइतबार २६ औं दिनको प्रदर्शन गरेका थिए। प्रहरीले निषेधित क्षेत्र पार गर्न खोजेपछि बल प्रयोग गरिएको जनाएको छ। तर, नेपाल शिक्षक महासंघले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरिरहँदा सरकारले नियोजित रूपमा झडप गराएको आरोप लगाएको छ।