काठमाडौं, वैशाख १४ :

प्रधानमन्त्री केपी ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्याललाई आइतबार बिदाइ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ओलीले असई छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गरे । यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहेका छत्याललाई सगरमाथा संवाद लेखिएको ब्यानर हस्तान्तरण गरिएको थियो ।

बिदाइ कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए । सरकारको आयोजनामा आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद हुँदै छ ।