
सप्तरी, वैशाख १४ :
सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामास्थित सडकमा आइतबार दिउँसो भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २२ जना यात्रु घाइते भएका छन्।
उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्न बहादुर मगरातीसहित नाम, थर र वतन खुल्न नसकेका एक पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
घाइते २२ जनालाई उपचारका लागि धर्मेश्वर अस्पताल, नगर अस्पताल तथा गोल्डेन अस्पताल विराटनगर पठाइएको सप्तरी प्रहरीले जानकारी दिएको छ। घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।