काठमाडौं, वैशाख १४ :

नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकमाथि गरिएको बल प्रयोगलाई सरकारको  कुशासनको उदाहरण भएको बताएका छन्

विद्यालय शिक्षा ऐनको माग राख्दै करिब एक महिनादेखि आन्दोलनमा रहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै उनले कडा आलोचना गरेका हुन्। कोइरालाले आइतबार सामाजिक सञ्जालमार्फत शिक्षकमाथिको बल प्रयोग र धम्कीपूर्ण व्यवहारले सरकारको गैरजिम्मेवार चरित्र उजागर भएको टिप्पणी गरे।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा छन्। पठनपाठन, सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा वार्तामार्फत समाधान खोज्नुको सट्टा सडकमै बल प्रयोग गर्नु सरकारको कुशासनको अर्को उदाहरण हो।’

नेता कोइरालाले सरकारलाई अब ढिला नगरी शिक्षकको समस्या समाधान गरेर पठनपाठन सुचारु गर्न आग्रह गरेका छन्। बानेश्वर क्षेत्रमा आन्दोलनरत शिक्षक र सुरक्षाकर्मीबीच झडप हुँदा झन्डै ५० जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ। महासंघका अनुसार शिक्षकमाथिको दमन केवल शारीरिक मात्र नभएर मानसिक रुपमा धम्की दिने कार्य पनि भइरहेको छ।