काठमाडौं, वैशाख १५ :

सहकारी संस्थामा भएको आर्थिक अपचलनविरुद्ध पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता नारासहितका प्लेकार्ड बोकेर उनीहरूले विरोध जनाएका हुन्।

लामो समयदेखि बचत रकम फसेका पीडितहरू सहकारी सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो पैसा फिर्ता गराउन माग गर्दै आएका छन्। सरकारले उनीहरूको मागप्रति चासो नदेखाएको भन्दै पीडितहरू महिनौंदेखि आन्दोलनरत छन्। सहकारी ठगी प्रकरण रास्वपाका सभापति रवि लामिछानेलगायतका थुप्रै व्यक्ति पक्राउ गरे पनि उनीहरु न दोषी किटान भएका छन् न उनीहरुबाट असुलपर नै गर्न सकिएको छ ।