
नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दामा आज (मंगलबार) प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दायर गरेको निवेदन सर्वोच्च अदालतमा आइतबार दर्ता भएको हो । मुद्दाको प्रारम्भिक सुनुवाइका लागि आज (मंगलबार) का लागि पेसी तोकिएको हो ।
पूर्वप्रधानमन्त्री केपी ओलीले संवैधानिक निकायमा नियुक्त गरेका ५२ पदाधिकारीको वैधानिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘डिल गरेको’ भन्ने थापाको हालैको सार्वजनिक अभिव्यक्तिलाई अदालतको अवहेलना मान्दै मुद्दा दर्ता गरिएको हो।
थापाले गएको बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा संवैधानिक निकायका पदाधिकारीहरूलाई सर्वोच्चले ‘झुलाइरहेको’ र ‘डिल गरेको’ आरोप लगाएका थिए ।
उनको भनाइमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य संवैधानिक निकायले पनि राजनीतिक लेनदेनमा संलग्न हुने गरेको आरोप थियो । ‘अख्तियार आफैंले अनुसन्धान गर्छ, आफैं दोषी पत्ता लगाउँछ, अनि आफैं निर्णय गर्न ढिलाइ गर्छ यस्तो अवस्थाले लोकतान्त्रिक संस्थामाथिको जनविश्वास घट्दै गएको छ,’ थापाले भनेका थिए ।
थापाको उक्त अभिव्यक्तिलाई सर्वोच्चको मर्यादाविरुद्ध रहेको भन्दै तीन अधिवक्ताले अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् ।