
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवादले चुलिएको छ। विवाद समाधानका लागि गठन गरिएको उच्चस्तरीय समितिका संयोजक शेष घलेविरुद्ध पनि अब अदालत अवहेलना मुद्दा दायर गरिएको छ।
यसअघि अध्यक्ष बद्री केसीसहित कार्यसमितिका पदाधिकारीहरूविरुद्ध सर्वोच्चमा अवहेलनासम्बन्धी मुद्दा दायर भइसकेको थियो। अब भने केसी पक्षधरले नै घलेमाथि सर्वोच्चको आदेश अवज्ञा गर्दै कार्यान्वयनमा अवरोध पुर्याएको आरोप लगाएका छन्।
संघकै उपाध्यक्ष रोजिना प्रधान राईसहितको समूहले घलेविरुद्ध दायर गरेको मुद्दामा आज (मंगलबार) न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पहिलो सुनुवाइ भएको छ। निवेदनमा घलेले गत साउनमा सर्वोच्च अदालतले दिएको आदेशको पालना नगरेको र समाधान प्रक्रियामा बाधा पुर्याएको उल्लेख गरिएको छ। एनआरएनएको नेतृत्व विवाद सर्वोच्च पुगेसँगै झनै पेचिलो बन्दै गएको छ। अदालतले यस विषयमा के निर्णय लिन्छ भन्ने चासो बढेको छ।