
सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग गरेको छ।
अदालतको अवहेलनामा थापाविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी स्पष्टिकरण माग गरेको हो।
थापाले केही दिनअघि सार्वजनिक कार्यक्रममा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संवैधानिक निकायमा नियुक्त ५२ जना पदाधिकारीसम्बन्धी मुद्दा ‘डिल गरेको’ भन्ने अभिव्यक्ति दिएका थिए।
उनको त्यस अभिव्यक्तिविरुद्ध अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। अब थापाले आफूले अदालतको अवहेलना नगरेको भन्दै लिखित रूपमा स्पष्टीकरण पेस गर्नुपर्नेछ।