काठमाडौं, वैशाख १६ :

पाकिस्तानी सेनाले नियन्त्रण रेखा (एलओसी) नजिक भारतीय क्वाडकप्टर ड्रोन खसालेको छ ।

पाकिस्तानी सरकारी सञ्चारमाध्यमहरू रेडियो पाकिस्तान र पीटीभी न्युजले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार उक्त ड्रोनले पाकिस्तानको हवाई क्षेत्र उल्लंघन गर्दै निगरानी गर्ने प्रयास गरिरहेको बेला खसालिएको हो । घटनास्थल पाकिस्तान नियन्त्रित जम्मु तथा कश्मीरको भिम्बर जिल्लाको मनावर सेक्टरमा पर्दछ ।

यो घटना भारतको पहलगाम क्षेत्रमा भएको हालैको हमलापछि दुई मुलुकबीच बढ्दै गएको तनावको बीचमा भएको हो । हमलापछि पछिल्ला पाँच रातदेखि भारतीय र पाकिस्तानी सेनाबीच एलओसीमा निरन्तर गोलीबारी भइरहेको बताइएको छ ।

दुवै आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध यसबीच झनै जटिल बनेको छ । पछिल्ला कूटनीतिक र सैन्य निर्णयहरूले तनावलाई थप चर्काएको देखिन्छ ।

भारतले सिन्धु जलसन्धि निलम्बन गर्ने घोषणा गरेको छ भने पाकिस्तानले भारतीय वायुसेवाहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको छ । क्षेत्रीय सुरक्षामा यसले गहिरो असर पार्न सक्ने चिन्ता विज्ञहरूले व्यक्त गर्दै आएका छन् ।