काठमाडौं, वैशाख १६ :

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा मंगलबार भएको भेटमा दुईपक्षीय सम्बन्धको विविध आयामबारे महत्त्वपूर्ण संवाद भएको छ । उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयू) बीच सन् १९७४ देखि स्थापित सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै अघिल्लो वर्ष मनाएको कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सवको चर्चा गरे । ‘उक्त अवसरले नेपाल र ईयूबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई थप प्रगाढ बनाएको विश्वास लिएको छु,’ उनले भने, ‘ईयू नेपालको प्रमुख विकास साझेदारका रूपमा रहिआएको छ ।’

स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइलगायत ग्रामीण विकासका क्षेत्रमा युरोपेली संघ समर्थित कार्यक्रमहरूको उपयोगिताको उच्च प्रशंसा गर्दै उनले कर्णाली प्रदेशमा ईयूको सहयोगअन्तर्गतका आयोजनाले दुर्गम क्षेत्रका जनतालाई अत्यन्तै फाइदा पुर्‍याएको बताए ।

‘नेपाल र ईयू लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताजस्ता साझा मूल्यहरूमा विश्वास राख्छन्,’ उपराष्ट्रपति यादवले भने, ‘महामारी र जलवायु परिवर्तनलगायत विश्वव्यापी चुनौतीको सामना गर्न बहुपक्षीय सहकार्यको आवश्यकता छ । यी विषयमा थप सहकार्यका लागि नेपाल तत्पर छ ।’

उनले नेपालको राजनीतिक रूपान्तरणको यो चरणसम्म आइपुग्न अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव र समर्थनबारे उल्लेख गर्दै नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरुलाई कायम राखी मुलुकको आर्थिक आकांक्षालाई पूरा गर्न ईयूले निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

‘सगरमाथा संवाद’ को महत्त्वको चर्चा गर्दै उपराष्ट्रपति यादवले ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ बारे विश्वस्तरीय बहसको उद्देश्यले स्थापना गरिएको संवाद मञ्चको आगामी संस्करणको आयोजना मे १६-१८, २०२५ मा काठमाडौंमा हुने जानकारी गराए । ‘उक्त संवादमा ईयूबाट उच्चस्तरीय सहभागिता हुने अपेक्षा व्यक्त गर्दछु,’ यादवले भने, ‘आगामी युरोप-डेको अवसरमा युरोपेली जनताको सुख, शान्ति र समृद्धिको शुभकामना पनि व्यक्त गर्दछु ।’

नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले नेपाल र युरोपेली संघबीचको सम्बन्ध पछिल्लो समय थप प्रगाढ बन्दै गएको उल्लेख गरिन् । उनले यो वर्ष युरोप-डेको स्वागत समारोह (रिसेप्सन) नेपालको सांस्कृतिक सम्पदालाई सम्मान गर्ने उद्देश्यले पाटन दरबार क्षेत्रमा गर्न लागेको बताइन् ।

‘युरोपेली संघ वातावरण र जलवायु परिवर्तनमा लगानी गर्न चाहन्छ,’ उनले भनिन् । राजदूत लोरेन्जोले दूधकोसी हाइड्रोपावरमा ईयू लगानी गर्न इच्छुक रहेको जनाउँदै नेपालको कर्णाली र मधेस प्रदेशमा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गरेको र मधेस प्रदेशको शिक्षा क्षेत्रमा सहयोग गर्ने बताइन् । ‘नेपाल अतिकम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुन लागेकोले त्यसक्रममा आउने चुनौती र गृहकार्यमा नेपाल सरकारसँग समन्वय गर्न तत्पर छौं,’ उनले भनिन् ।