काठमाडौं, वैशाख १७ :

नरःदे (हाँडीगाउँ) भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन शिलान्यास भएको छ । आज (बुधबार) महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल र वडाध्यक्ष वीरेन्द्र प्रजापतिले वैदिक विधिअनुसार जग पूजा र शिलान्यास गरे ।

शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले, सम्पदा मूल्य अन्य कुनै वस्तु वा सामग्रीसँग तुलना गर्न नसकिने बताउँदै मौलिक स्वरुपमा सम्पदा पुनरुत्थानमा महानगरपालिकाले लगानी बढाएको उल्लेख गरिन् । मूर्त, अमूर्त सम्पदासँगै अभिलेख सम्पदा संरक्षण र प्रवर्धनमा महानगरपालिकाले अविराम काम गरिरहेको उनको भनाइ छ ।

हाँडीगाउँलाई प्राचीन नरःदेको स्वरुपमा फिर्ता लैजान काम गरिरहेको वडाध्यक्ष प्रजापतिको भनाइ छ । उनले फल्चा निर्माण यसको एउटा इँटा भएको पनि उल्लेख गरे ।

भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीनतले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र बहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।

भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ । २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।