
कैलालीको टिकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई सर्वोच्च अदालतको आदेश बमोजिम आज (बुधबार) प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
२०८० जेठ २ गते सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्ण पाठ अदालतको मुद्दा महाशाखाले आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएपछि उनलाई पक्राउ गरिएको हो ।
उक्त फैसलामा जन्मकैदको सजाय पाएका व्यक्ति कुनै हालतमा आममाफीको हकदार नहुने स्पष्ट उल्लेख गरिएको छ । प्रहरीले कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठान परिसरबाट चौधरीलाई नियन्त्रणमा लिएको थियो । उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले रेशमलाई टीकापुर घटनाकै कैद भुक्तान बाँकी रहेकाले अदालतको आदेशअनुसार पक्राउ गरिएको बताए ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको हिंसात्मक घटनामा ८ सुरक्षाकर्मी र एक दुधे बालकको ज्यान गएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोगमा चौधरीलाई जिल्ला अदालतदेखि सर्वोच्चसम्मले जन्मकैदको सजाय तोकेको थियो ।
तर २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीले आममाफी पाएका थिए । उनलाई माफी दिने राष्ट्रपतिको निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। कडायत टीकापुरमा मारिएकामध्ये प्रहरी अधिकृत केशव बोहराकी श्रीमती हुन्।
सर्वोच्चले २०८० कात्तिक १६ गते ‘रिगल ढकाल आममाफी’ बदर गर्ने फैसलालाई नजिर मान्दै चौधरीको मुद्दामा पनि त्यसैको व्याख्या अनुसार फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो । सोही आधारमा बाँकी सजाय भुक्तान गराउन चौधरीलाई पुनः पक्राउ गर्न सर्वोच्चले पत्र पठाइएको थियो । उनले २० वर्षको सजायमध्ये झण्डै १५ वर्ष कैद भुक्तान गर्न बाँकी छ ।
यो पनि…
नाउपाका संरक्षक रेशम चौधरी पक्राउ, दल एकता अन्योल
रेशम चौधरी पक्राउप्रति सिके राउतको भर्त्सना, पार्टी एकता सभा स्थगित