
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले आफूखुसी पत्राचार गर्दा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षकसमेत रहेका रेशम चौधरी करिब ५ घण्टा जेलमा थुनिनु पर्यो ।
विष्टकै अनधिकृत पत्रका आधारमा प्रहरीले पार्टी एकता घोषणा कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका चौधरीलाई एकाएक जेल पुर्याइयो । त्यतिमात्र होइन सर्वोच्चको त्यो पत्रले एकछिन त सबै चकित परे । अरु त अरु सर्वोच्च आफैं अलमलमा पर्यो ।
आफूखुसी पत्र तयार पारेर चौधरीलाई जेल पुर्याउने उपद्रव गरेका विष्ट सरकारी जागिरका क्रममा जहाँ पुग्यो त्यहीँ काण्ड मच्चाउने गरेका छन् । यसपटक उनले टीकापुर घटनाका ‘मृतात्मा’लाई शान्त पार्न अनधिकृत पत्र लेखेर चौधरीलाई कारागार पुर्याएको प्रहरीसमक्ष बयान दिएका छन् ।
आफैंले तयार पारेको पत्र बोकेर उनी स्वयं कारागार कार्यालय डिल्लीबजार र प्रहरी प्रधान कार्यालय पुगे । त्यही अनधिकृत पत्र पाएको केहीबेरमै चौधरी पक्राउ परे ।
चौधरी पक्राउ परेको मिडियामार्फत सार्वजनिक भएपछि सर्वोच्च प्रशासनले त्यसको आधिकारिताबारे सोधखोज गर्यो । यसक्रममा विष्टले मनलाग्दी रुपमा पत्र तयार पारेर आफैं बुझाउन गएको खुलेको थियो । पछि सर्वोच्चका सहसचिव एवं प्रवक्ता अच्युत कुइँकेलले यसअघि जारी पत्र आधिकारिक नभएको भन्दै चौधरीलाई थुनामुक्त गर्न कारागार कार्यालयलाई पत्राचार गरे । त्यसपछि चौधरी करिब पाँच घण्टाको कारागार बसाइँपछि छुटे भने प्रहरीले विष्टलाई कारबाहीका लागि नियन्त्रणमा लियो ।
यसअघि पनि विष्टले सरकारी जागिरको आवरणमा आफ्नो तुजुक देखाउने शैलीलाई कायमै राखेका थिए । कञ्चनपुर जिल्ला अदालतमा तहसिलदारका रुपमा कार्यरत रहँदा उनले एउटा मुद्दाको दरपिठको आदेश जारी गरे । त्यसक्रममा विष्टले कानुन व्यवसायीमाथि व्यक्तिगत तहको गालीगलौज गरेका थिए ।
कञ्चनपुर जानुअघि उनी नुवाकोट जिल्ला अदालतमा कार्यरत रहँदा तत्कालीन न्यायाधीश लोकजंग शाहसँग विवाद मच्चाएका थिए । न्यायाधीशसँग गरेको झगडाकै कारण विष्टलाई नसिहतस्वरुप कञ्चनपुर सरुवा गराइयो । कञ्चनपुरमा मुद्दा दरपिठ र कानुन व्यवसायीमाथिको लफडाकै कारण विष्टलाई सर्वोच्चमा सरुवा गरिएको थियो ।
न्याय सेवा प्रवेश गर्नुअघि विष्ट नासुका रुपमा सिन्धुपाल्चोकको साविकको एउटा गाविसमा सचिवका रुपमा कार्यरत थिए । त्यसबेला उनी कार्यरत गाविसकै अध्यक्षसँग विवाद भएपछि अन्यत्र सरुवा गरिदिने धम्कीसमेत दिएका थिए । उसो त ती गाविस अध्यक्ष डराएर सरुवा गराउन मिल्छ कि मिल्दैन भन्दै जिविसमा परामर्शका लागि पुगेको सर्वोच्चवृत्तमा अझैं चर्चा चल्छ ।