काठमाडौं, वैशाख १७ :

सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार (आज) भएको वार्तापछि सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदामा सहमति जुटेको हो ।

दुवै पक्षबीच विद्यालय शिक्षा ऐन आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलन पनि टुंगिएको छ । शिक्षा ऐन जारी गर्नलगायत माग राखी शिक्षकहरुले झन्डै एक महिनादेखि राजधानीकेन्द्रित आन्दोलन गर्दै आएका थिए ।

शिक्षामन्त्री नेतृत्वको सरकारी वार्ता टोलीसँग भएको सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै आन्दोलनरत शिक्षकहरु विद्यालय फर्किएर नियमित काममा लाग्ने भएका छन् ।

यस्तो छ सरकार र शिक्षक महासङ्घबीचको नौबुँदे सहमति:

१. स्वास्थ्य उपचारमा सहुलियत:
काठमाडौँस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत दरमा उपचार सेवा उपलब्ध गराइनेछ।

२. बिरामी बिदा र एकमुष्ट भुक्तानी:
राहत, अस्थायी, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा तथा बालविकास सहजकर्ताको बिदा सञ्चित हुने व्यवस्था गरिनेछ, र अवकाशपछि उक्त बिदाको रकम एकमुष्ट उपलब्ध गराइनेछ।

३. पारिश्रमिकको व्यवस्था:
प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक नेपाल सरकारले तोकेको दरबमोजिम उपलब्ध गराइनेछ।

४. शिक्षक ग्रेड र तलब सुधार:
आर्थिक वर्ष २०८२/८३ देखि स्थायी शिक्षकमध्ये:

क.प्राथमिक तृतीय

ख.प्राथमिक द्वितीय

ग.निम्न माध्यमिक तृतीय

घ.माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूलाई निजामती सरह ग्रेड सङ्ख्या र तलब रकम दिइनेछ।

५. दुर्गम भत्ता:
स्थायी तथा अस्थायी प्रकृतिका (राहत, अस्थायी, करार, साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) शिक्षकलाई प्रचलित कानुनअनुसार दुर्गम भत्ता दिइने व्यवस्था गरिनेछ।

६. सामाजिक सुरक्षा कोषमा समावेश:
सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न सम्बन्धित नियमावलीमा व्यवस्था गरिनेछ।

७. मर्यादाक्रममा समावेशीकरण:
शिक्षकलाई नेपाल सरकारको मर्यादाक्रम सूचीमा समावेश गरिनेछ।

८. निःशुल्क उपचारको व्यवस्था:
आन्दोलनका क्रममा घाइते भएका शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको उपचार सरकारी अस्पतालमा निःशुल्क गरिनेछ।

९. तलब ग्रेड समायोजन:
निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षकसरह कायम गरिनेछ।