
जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवको पेस्तोल पड्काउँदै नाचिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धान थालेको छ।
सामाजिक सञ्जालमार्फत बुधबार सार्वजनिक भएको भिडियोमा डा. यादव केही युवासँगै नाचिरहेको देखिन्छ भने उनले चलाएको पेस्तोलबाट निस्किएको धुवाँ स्पष्ट रूपमा देख्न सकिन्छ ।
भिडियोमा उनले एक राउण्ड हवाई फायर गरेपछि अर्को युवकले पेस्तोल समाइरहेको दृश्य पनि कैद भएको छ । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।
बोदे बरसाइन नगरपालिका ५ की स्थायी बासिन्दा यादव जसपा नेपालकी उपाध्यक्षसमेत हुन्। उनी राष्ट्रिय सभा सदस्य मृगेन्द्रसिंह यादवकी छोरी हुन् । सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति विभिन्न प्रतिक्रिया आउन थालेका छन् भने कानुन विपरीत हतियार प्रदर्शन र हवाई फायरको विषयमा कारबाहीको माग गरिएको छ ।