भक्तपुर, वैशाख १८ :

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालकी अध्यक्ष गीता क्षेत्री राणाले प्रभावकारी विद्यालय व्यवस्थापनका लागि सक्षम नेतृत्व अपरिहार्य रहेको बताएकी छन् ।

नेसनल प्याब्सन काठमाडौंले भक्तपुरमा आयोजना गरेको ‘प्रभावकारी विद्यालय व्यवस्थापनका लागि नेतृत्व’सम्बन्धी गोष्ठीमा उनले विद्यालयका प्रिन्सिपल, इन्चार्ज र शिक्षकलाई समेटेर एकताबद्ध ढंगले अघि बढ्दा मात्र बालबालिकाको पठनपाठनमा सकारात्मक प्रभाव पर्ने धारणा राखिन् ।

उनले भनिन्, ‘हामी सबै मिलेर अघि बढ्यौं भने मात्र सफलता सम्भव हुन्छ । नेतृत्व व्यवस्थापन भन्दा माथिको तह हो । कसरी विद्यालयलाई अगाडि बढाउने भन्नेमा फरक सोचसहित काम गर्न आवश्यक छ ।’

उनले नेपालको संविधानले आधारभूत शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि व्यावहारिक रूपमा निजी विद्यालयहरूले त्यसभन्दा उन्नत शिक्षा उपलब्ध गराउँदै आएको उल्लेख गरिन् । ‘सरकारी विद्यालयहरूले आधारभूत शिक्षा दिइरहेका छन् तर नागरिकको चाहनाअनुसार गुणस्तरीय शिक्षा निजी विद्यालयहरूले दिइरहेका छन्,’ उनले भनिन् ।

अध्यक्ष क्षेत्रीले हालको शिक्षा ऐनले निजी लगानीलाई निरुत्साहित गरिरहेको उल्लेख गर्दै नयाँ शिक्षा ऐनले सबैको अस्तित्वलाई स्वीकार गर्दै नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘संविधानले निजी शिक्षालाई आवश्यक भनेको छ तर ऐनले चाहिन्न भन्नेजस्तो देखिन्छ । अबको शिक्षा ऐनले यो विषयमा गम्भीर ध्यान दिनुपर्छ ।’

कार्यक्रममा निजी शिक्षाको योगदान, नेतृत्व विकास र विद्यालय व्यवस्थापनका विविध पक्षमा समेत छलफल भएको थियो ।