
वीरगन्ज महानगर १५, भीष्वाका वीरेन्द्र महतोलाई दुई दशक अघिसम्म वीरगन्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक-चोकमा भेटिने यात्रुलाई आफ्नो गन्तव्यमा पुर्याउन उनलाई भ्याइनभ्याई हुन्थ्यो त्यही कर्मबाट आफ्नो पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहेका थिए ।
तर, विगत पाँच वर्षयता भने उनी जस्तै वीरगन्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ । अहिले ४७ वर्षीय महतोलाई वीरगन्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेटाउन पनि मुस्किल पर्ने गरेको गुनासो सुनाए । २० वर्ष अघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउन भ्याइनभ्याइ हुन्थ्यो । त्यतिबेला पनि आम्दानी पनि राम्रै हुन्थ्यो । उनले भने, ‘अचेल त चोक-चोकमा छ्याप्तछयाप्ती भेट्टिने अटोरिक्साका कारण हामीजस्ता भाडाका रिक्सा चालकको काम खोसिएको छ । अचेल दिनको ७०० रुपैयाँ कमाउन पनि मुस्किल पर्ने अवस्था छ ।’
तीन छोरी र दुई छोराका पिता महतोलाई रिक्सा चलाएरै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको छ । ‘महँगीले अहिले आकाशै छोएको छ । बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म रिक्सा चलाउँदा पनि ७०० रुपैयाँ कमाउन धौ-धौ भइसकेको छ,’ उनले भने, ‘त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ ।’
यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैन । अधिकांश रिक्सा चालकले दैनिक औसतमा १५० देखि २०० रुपैयाँ भाडा तिरेर साहुको रिक्सा चलाउँदै आएका छन् ।
‘रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तव्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुचि देखाउँदैनन्,’ रिक्सा चालक महतोले भने, ‘मेसिनबाट चल्ने अटोरिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र ?’
वीरगन्जको घण्टाघर चोकदेखि बसपार्कसम्म अटोरिक्सामा १० मात्र नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तिमा पनि ३० पर्ने भएकाले पनि भएकाले पनि सर्वसाधारणको रोजाइमा अचेल रिक्सा खासै पर्दैन । उनले अटोरिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको बताए । ‘५० हजार रुपैयाँ पर्ने रिक्सा त आफैं किन्न सकेको छैनौ भने कहाँ चार लाख पर्ने अटोरिक्सा किन्ने कुरो त सपना जस्तै हो,’ उनले भने ।
प्राचीन तथा व्यापारिक सहर वीरगन्ज बजारमा पहिलाजस्तो रिक्सा गुड्न पनि कमी आएको छ । अहिले वीरगन्जमा औसतमा २०० भन्दा धेरै रिक्सा चालक छन् । वीरगन्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षीय वसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताउँछन् ।
‘अचेल रिक्सा चलाएर गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,’ उनले भने, ‘रिक्सा चलाउनेबाहेक अन्य कुनै सीप छैन । तर यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि ।’