काठमाडौं, वैशाख १९ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग अजरबैजानका उप-विदेशमन्त्री एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्धमा नयाँ प्रगति भएकोमा खुसी जनाए । उनले दुई देशबीचको सहकार्यका क्षेत्रहरूको पहिचान गरी मिलेर काम गर्नुपर्ने धारणा राखे ।

पौडेलले कोप-२९ मा आफ्नो सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

भेटका क्रममा उप-विदेशमन्त्री मामेडोभले राष्ट्रपति पौडेलको अजरबैजान भ्रमणका कारण दुई देशबीचको सम्बन्धमा नयाँ आयम थपिएको बताए । उनले ३० वर्षसम्म कुनै समझदारीपत्रमा हस्ताक्षर हुन नसके पनि अब कुनै न कुनै समझदारीपत्रमा चाँडै हस्ताक्षर हुने गरी काम भइरहेको जानकारी दिए ।