काठमाडौं, वैशाख १९ :

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी-किट) कलेजमा नेपाली छात्रा प्रिशा साह मृत भेटिएको प्रकरणमा नयाँदिल्लीस्थित नेपाली दूतावासले छलफल थालेको छ ।

दूतावासले शुक्रबार विज्ञिप्ति जारी गर्दै घटनाबारे ओडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य भारतीय निकायहरुसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको बताएको छ ।

त्यस्तै कलेजका प्रतिनिधिहरुलाई आज (शुक्रबार) बिहान दूतावासमा बोलाएर उक्त घटनाबारे जानकारी लिएको बताइएको छ । नेपाली विद्यार्थी छात्रावासको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दूतावासलाई बिहीबार राति मात्रै थाहा भएको समेत विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै मृतकका परिवारसँग पनि  निरन्तर सम्पर्क गरिरहेको दूतावासले जनाएको छ ।

परराष्ट्रको कूटनीतिक पहल
यसैबीच केआईआईटी कलेजको छात्रावासमा पर्सा वीरगन्जकी नेपाली छात्रा साह मृत भेटिएको घटनाबारे नेपाल सरकारले पनि सत्यतथ्य छानबिनका लागि कूटनीतिक पहल थालेको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले घटनाप्रति दु:ख व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले घटनालगत्तै (बिहीबार बेलुकै) भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जनाएकी छन् ।

राणाले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै भनेकी छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह आफ्नै होस्टेल कोठामा मृत भेटिएको घटनाले निकै मर्माहत बनाएको छ । प्रिशाको आत्माको चीर शान्तिको कामना गर्दै यस दु:खद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु । परराष्ट्र मन्त्रालयले घटनालगत्तै हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको छ।’ 

किट कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो । यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन् ।

घटनाबारे राज्य सरकारको अनुसन्धान
घटनाबारे त्यहाँको राज्य सरकारले अनुसन्धान थालिसकेको छ । ओडिसा सरकारको आई एन्ड पीआर विभागका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन् । प्रमाण संकलनका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा पुगेको छ ।

ओडिसा सरकारको आई एन्ड पीआर विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बीटेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो ।

यो पनि…

केआईआईटी विश्वविद्यालयमा फेरि अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव फेला
घटना छानबिन गर्न कूटनीतिक पहल थालिसक्यौं : परराष्ट्रमन्त्री राणा